सांसद राजीव खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति: क्षमा माग्न, अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र कारबाही गर्न माग

Oct 1, 2026 - 20:10
 0  11
सांसद राजीव खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति: क्षमा माग्न, अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र कारबाही गर्न माग

१५ असाेज,काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

 महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै ‘धम्क्याउने पत्रकार हुन् कि गुण्डा’ तथा ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्ने अभिव्यक्ति दिएको जनाएको छ।

 पूर्वपत्रकारसमेत रहेका खत्रीले महासंघका नेताहरू दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोल्नु आपत्तिजनक रहेको अभिव्यक्ति दिएको भन्दै महासंघले उक्त भनाइलाई अशोभनीय, अमर्यादित र अराजक भनेको छ। महासंघले खत्रीको अभिव्यक्ति प्रेसविरोधी रहेको भन्दै खेद व्यक्त गरेको छ।

साथै उक्त अभिव्यक्तिप्रति तत्काल क्षमायाचना गर्न आग्रह गरेको छ। महासंघका अनुसार विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबारका लागि आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम भक्तपुरका पत्रकारले बहिष्कार गर्ने जनाएका छन्।

महासंघले खत्रीको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेको छ। संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरुद्ध पत्रकार र प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने कार्य गरेको भन्दै खत्रीलाई कारबाहीको दायरामा ल्याउन पनि महासंघले सम्बन्धित पक्षसँग माग गरेको छ।

 महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नसमेत आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 1
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0