शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

Oct 2, 2026 - 11:40
 0  6
शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

१६ असाेज,हेटाैडा  । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र ज्ञानलाई व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताएका छन्।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फर्स्ट ग्राजुएट कन्फ्रेन्समा शुक्रबार मन्तव्य राख्दै मुख्यमन्त्री थापा मगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्वपूर्ण आधार रहेको बताए।

 उनले वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए। ‘शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा जोड्न आवश्यक छ।’

 मुख्यमन्त्री थापा मगरले जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा देखिएको बताए। यस्ता चुनौती सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै उनले विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

 उनले प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्ने बताए। प्राकृतिक स्रोतको संरक्षणसँगै त्यसबाट प्राप्त अवसर र लाभलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्रीले वन विज्ञान तथा वातावरणका क्षेत्रमा हुने अनुसन्धानलाई नीति निर्माण र स्थानीय तहमा देखिएका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्ने बताए। ‘अनुसन्धानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ,’ उनले भने, ‘हाम्रो अनुसन्धानले समाज र वातावरणका वास्तविक समस्या समाधान गर्न सक्ने आधार तयार गर्नुपर्छ।’

उनले युवाहरूले आफूले हासिल गरेको ज्ञान र सीपलाई स्थानीय आवश्यकता तथा वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए। वन विज्ञान अध्ययन पूरा गरेका विद्यार्थीलाई देश र प्रदेशको प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान पुर्‍याउने महत्वपूर्ण जनशक्तिका रूपमा विकास गर्नुपर्ने उनले बताए।

 मुख्यमन्त्री थापा मगरले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। बदलिँदो वातावरणीय चुनौती र प्राकृतिक स्रोत व्यवस्थापनका नयाँ आयामलाई सम्बोधन गर्न विश्वविद्यालयले समयानुकूल अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

फर्स्ट ग्राजुएट कन्फ्रेन्सले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच ज्ञान, अनुभव र विचार आदान–प्रदान गर्ने अवसर प्रदान गरेको उनले बताए। सम्मेलनले वन विज्ञान, वातावरण संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ सोच र अनुसन्धानका सम्भावनालाई थप विस्तार गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0