भरत दाहाल पक्राउप्रति डा. शेखर कोइरालाको आपत्ति, भने– ‘सरकार स्वेच्छाचारी हुन थालेको छ’
५ असोज,काठमाण्डाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।
कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाले स्वेच्छाचारी बन्ने भन्दै दाहालको पक्राउलाई त्यसको पछिल्लो उदाहरणका रूपमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो। हामी कस्तो समाज निर्माण गर्दैछौं।’ कोइरालाले दाहाललाई तत्काल रिहा गर्न तथा आगामी दिनमा यस्ता गतिविधि नदोहोरिने प्रतिबद्धता जनाउन पनि सरकारसँग आग्रह गरेका छन्।
‘भरत दाहालको तुरुन्त रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी कृयाकलाप फेरि नदोहोरिने प्रतिवद्धताको लागि सरकारसँग आग्रह गर्दछु,’ उनले भनेका छन्।
चिया पसलबाट पक्राउ परेका राजनीतिक विश्लेषक दाहाललाई आइतबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट प्रहरीले पक्राउ गरेको खुलेको छ।
उनी असोज २ गते राजनीतिक छलफलका लागि पूर्वतर्फ गएका थिए र काठमाडौं फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। दाहाललाई बिहान करिब ८ बजे पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरी काठमाडौं पठाएको जनाएको छ। पक्राउ अनुमति साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट जारी भएको प्रहरीको भनाइ छ।
साइबर ब्युरोका प्रहरी उपरीक्षक दिलीप गिरीलाईले दाहालमाथि आफ्नो नाममा सञ्चालित युट्युब च्यानलमार्फत सरकार, मन्त्री तथा विभिन्न राजनीतिक व्यक्तिसँग सम्बन्धित ‘तथ्यहीन तथा भ्रामक सामग्री’ प्रसारण गरेको आरोपमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
‘द ग्रेजोन’को रिपोर्टबारे दाहालले सामग्री बनाएको प्रहरीको दाबी दाहालले पछिल्लो समय नेपालको समसामयिक राजनीति तथा भू–राजनीतिक विषयमा भिडियो सामग्री सार्वजनिक गर्दै आएका थिए।
प्रहरी स्रोतलाई उद्धृत गरिएका समाचारअनुसार उनले अमेरिकी अनलाइन प्रकाशन द ग्रेजोनमा प्रकाशित सामग्रीलाई आधार बनाएर नेपालका पछिल्ला राजनीतिक घटनाक्रमबारे विश्लेषण गरेका थिए ।
द ग्रेजोनले ९ सेप्टेम्बर २०२६ मा प्रकाशित रिपोर्टमा लिक भएका कागजातलाई आधार बनाउँदै नेपालका केही नयाँ राजनीतिक नेताहरू अमेरिकी सरकारसम्बद्ध कार्यक्रमसँग जोडिएको दाबी गरेको छ।
उक्त रिपोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, सागर ढकाल र गृहमन्त्री सुधन गुरुङलाई सन् २०१९/२०२० का कागजातमा ‘catalytic civic leaders’ का रूपमा उल्लेख गरिएको दाबी गरिएको छ।
तर द ग्रेजोनको रिपोर्टमा गरिएका व्यापक निष्कर्ष र दाबीहरू आफैंमा अनुसन्धानात्मक प्रकाशनका दाबी हुन्; । यही विषयमा राजनीतिक विवादसमेत बढेको देखिन्छ। दाहाल पक्राउपछि एमाले सचिव महेश बस्नेतसहित केही राजनीतिक नेताले पनि पक्राउको विरोध गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0