बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या, एक संदिग्ध पक्राउ; प्रहरी थानाध्यक्ष निलम्बित

Oct 16, 2026 - 05:46
 0  3
बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या, एक संदिग्ध पक्राउ; प्रहरी थानाध्यक्ष निलम्बित

३० असोज,बारा । भारतको बिहार राज्यस्थित भोजपुर जिल्लाको आरा सहरमा क्षत्रीय महासभाका अध्यक्ष रामकुमार सिंहको गोली हानी हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

 घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ भने घटनासँग सम्बन्धित आरोपपछि एक प्रहरी थानाध्यक्षलाई निलम्बन गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय सिंहको बिहीबार (१५ अक्टोबर) बिहान आरा सहरको कनकपुरी क्षेत्रमा जैन कलेजको पूर्वी गेटनजिकै गोली हानी हत्या गरिएको हो।

उनी घरबाट बिहानको हिँडाइका(माेर्निङ वाक) लागि निस्कने तयारीमा रहेका बेला मोटरसाइकलमा आएका हतियारधारी व्यक्तिहरूले उनीमाथि गोली प्रहार गरेका थिए। आक्रमणमा गम्भीर घाइते भएका सिंहलाई स्थानीयवासीको सहयोगमा अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

 जग्गा विवादमा हत्या भएको परिवारको आरोप

 सिंहका परिवारका सदस्यले जग्गासम्बन्धी विवादलाई हत्याको सम्भावित कारण बताएका छन्। परिवारका अनुसार यसअघि पनि उनलाई धम्की आएको थियो। जग्गा कब्जा गर्ने प्रयास र पुरानो विवादका कारण हत्या भएको उनीहरूको आरोप छ।

 भोजपुरका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा जग्गा विवादको विषय देखिएको बताएका छन्। यद्यपि, हत्याको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको छ।

 एक संदिग्ध प्रहरी नियन्त्रणमा

 घटनापछि भोजपुरका प्रहरी अधिकारी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेका थिए। प्रहरीले मृतकका परिवारसँग सोधपुछ गर्नुका साथै घटनास्थलबाट प्रमाण संकलन गरेको छ। परिवारसँगको सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा केही व्यक्तिको नाम अगाडि आएको र तीमध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 घटनामा प्रहरी अधिकारी तथा प्रभावशाली व्यक्तिहरूको सम्भावित संलग्नताबारे पनि प्रश्न उठाइएको छ। प्रहरीले भने अनुसन्धानबाट दोषी देखिने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ।

 प्रहरी थानाध्यक्ष निल्मबित सडक अवरूद्व

हत्यापछि आक्रोशित स्थानीयवासी तथा मृतकका आफन्तले दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले आरा–पटना सडकखण्डका केही स्थानमा सडक अवरुद्ध गरेका थिए, जसका कारण यातायातसमेत प्रभावित भएको थियो।

यसैबीच, घटनाका आरोपितसँग कथित साँठगाँठ गरेको आरोपसँग सम्बन्धित विषयमा मुफस्सिल प्रहरी थानाका थानाध्यक्ष रामकल्याण यादवलाई निलम्बन गरिएको समाचारमा उल्लेख छ। उक्त निलम्बन हत्याको अनुसन्धानसँग सम्बन्धित आरोपका आधारमा गरिएको हो ।

 सामाजिक क्षेत्रमा पनि सक्रिय थिए सिंह

 सेवानिवृत्त भन्सार अधिकारी सिंह शाहाबाद क्षेत्रको क्षत्रीय महासभाका अध्यक्षका रूपमा सक्रिय थिए। उनी रामलीला समिति ट्रस्ट, रेडक्रस सोसाइटी तथा अन्य सामाजिक संस्थासँग पनि आबद्ध रहेको बताइएको छ। उनको हत्यापछि परिवार, आफन्त र संगठनसँग आबद्ध व्यक्तिहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0