बाढीपहिरोपीडितको पीडामा मल्हम लगाउँदै नेशनल भोलेन्टियर फोर्स, एक महिनाभन्दा बढी मैदानमै खटिने
१७ भदाै,काठमाण्डाैं । बाढीपहिरोका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला नेशनल भोलेन्टियर फोर्स राहत, उद्धार तथा व्यवस्थापनमा स्वयंसेवकसहित प्रभावित क्षेत्रमा परिचालित भएको छ।
फोर्सका केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको नेतृत्वमा ६० जना स्वयंसेवकको टोली राहत सामग्रीसहित नुवाकोट पुगेको हो। फोर्सले १० लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री लिएर नुवाकोट पुगेको जनाएको छ। टोलीले स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी पीडित परिवारलाई राहत सामग्री वितरण गरिरहेको छ।
फोर्सका अध्यक्ष श्रेष्ठका अनुसार नुवाकोटको राहत तथा उद्धार अभियान सम्पन्न गरेपछि टोली रसुवा जाने तयारीमा छ। विपद्को समयमा औपचारिक भ्रमणभन्दा प्रभावित नागरिकको प्रत्यक्ष सहयोगलाई प्राथमिकता दिँदै स्वयंसेवकहरू मैदानमा खटिएको उनले बताए। ‘विपद्का बेला भाषणभन्दा सहयोग चाहिन्छ, आश्वासनभन्दा हात चाहिन्छ’ भन्ने भावनासहित स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालित भएको श्रेष्ठको भनाइ छ।
फोर्सले राहत सामग्री वितरणमा मात्र आफ्नो जिम्मेवारी सीमित नगरी खाना, बसोबास तथा सुरक्षाको समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्ने योजना बनाएको छ। विपद्पछि धेरै परिवारको घरबास प्रभावित हुनुका साथै खानेकुराको अभाव र सुरक्षित रूपमा बस्नसमेत समस्या देखिएकाले निःशुल्क खाना खुवाउने मेस सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार प्रभावित नागरिकलाई राहत दिएर मात्र अभियान सकिने छैन। आवश्यक अवधिसम्म निरन्तर रूपमा सहयोग गर्ने उद्देश्यले टोलीलाई दीर्घकालीन स्वयंसेवी अभियानका रूपमा परिचालन गरिएको हो। ‘महिनौँ होइन, आवश्यक परेसम्म मैदानमै’ नेशनल भोलेन्टियर फोर्सले यसपटकको राहत तथा उद्धार अभियानलाई छोटो समयको औपचारिक भ्रमणका रूपमा नभई दीर्घकालीन स्वयंसेवी अभियानका रूपमा अघि बढाउने जनाएको छ। टोली कम्तीमा एक महिनाभन्दा बढी समय प्रभावित क्षेत्रमा रहेर राहत वितरण, उद्धार, खाना व्यवस्थापन तथा आवश्यक सहयोगमा खटिने तयारीमा छ।
विपद्पछि राज्यका संयन्त्र उद्धार तथा राहत व्यवस्थापनमा सक्रिय भए पनि प्रभावित नागरिकको दैनिकी अझै सहज बन्न नसकेको स्वयंसेवकहरूको अनुभव छ। विशेषगरी खानेकुरा, सुरक्षित बसोबास र आधारभूत आवश्यकताको व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ।
बाढीपहिरोमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन तथा त्यससँग जोडिएका प्रक्रियामा राज्यका निकाय व्यस्त भइरहेका बेला बाँचेका नागरिकको तत्कालीन आवश्यकता पनि उत्तिकै गम्भीर रहेको स्वयंसेवकहरूले बताएका छन्। ‘विपद्मा ज्यान गुमाएकाहरूको सम्मानजनक व्यवस्थापन आवश्यक छ, तर बाँचेका नागरिकको भोक, पीडा र असुरक्षालाई पनि राज्यले उत्तिकै प्राथमिकता दिनुपर्छ,’ अभियानमा सहभागी स्वयंसेवकहरूको भनाइ छ।
एमालेको विपद् अभियानसँगै स्वयंसेवक परिचालन विपद् व्यवस्थापनका लागि नेकपा (एमाले)ले केन्द्रीय सचिव महेश बस्नेतको कमाण्डमा विपद् व्यवस्थापन समिति गठन गरेको छ। सोही अभियानअन्तर्गत पार्टीका विभिन्न जनवर्गीय संगठनसमेत प्रभावित क्षेत्रमा परिचालित छन्।
अनेरास्ववियु तथा राष्ट्रिय युवा संघ नेपालका स्वयंसेवकहरू एक सातादेखि प्रभावित क्षेत्रमा खटिएर उद्धार, राहत तथा व्यवस्थापनमा सहयोग गरिरहेका छन्। अब नेशनल भोलेन्टियर फोर्सको थप जनशक्ति र राहत सामग्री परिचालनले अभियानलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ। फोर्सका स्वयंसेवकहरूले एमाले नुवाकोट जिल्ला कमिटीसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरिरहेका छन्।
साथै स्थानीय तह, प्रहरी प्रशासन तथा नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको फोर्सले जनाएको छ। टोलीमा केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठसँगै एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ पनि सहभागी छन्। यो नेशनल भोलेन्टियर फोर्सको दोस्रो चरणको राहत तथा उद्धार अभियान हो।
यसअघि पनि फोर्सले विभिन्न विपद्पीडित क्षेत्रमा राहत सामग्रीसहित स्वयंसेवक परिचालन गरेर सहयोग गरेको थियो। प्राकृतिक विपद्ले घर मात्रै भत्काएको छैन, धेरै परिवारको आधार, आशा र दैनिकीसमेत प्रभावित बनाएको छ।
यस्तो अवस्थामा राहतको एउटा पोका, तातो खानाको एउटा गाँस र संकटमा साथ दिने एउटा हात पनि पीडितका लागि ठूलो भरोसा बन्न सक्छ। यही भरोसा बोकेर नेशनल भोलेन्टियर फोर्सका स्वयंसेवकहरू नुवाकोटका प्रभावित बस्तीमा पुगेका छन्—राहत बोकेर मात्रै होइन, पीडितको दुःखमा सँगै उभिन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0