प्रधानमन्त्री बालेनको सम्बोधनले विश्वको ध्यान तान्यो : परराष्ट्रमन्त्री खनाल
१४ असाेज,,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनले अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थिति र कूटनीतिक छविलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएका छन्।
न्यूयोर्कबाट स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री शाहको सम्बोधन विश्वका प्रमुख सञ्चारमाध्यममा चर्चाको विषय बनेको र विभिन्न देशका नेता तथा कूटनीतिज्ञबाट प्रशंसा पाएको दाबी गरे। उनका अनुसार राजनीतिक परिवर्तनपछि बनेको सरकारको नेतृत्व गरिरहेका युवा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा सुरुदेखि नै अन्तर्राष्ट्रिय समुदायको चासो थियो।
मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनपछि विश्वका प्रमुख समाचार माध्यममा त्यसले प्रमुखता पाएको बताए। उनले महासभाका क्रममा प्रधानमन्त्री शाहको सम्बोधनको भिडियो विश्वभर सबैभन्दा धेरै हेरिएको दाबीसमेत गरे।
प्रधानमन्त्रीको सम्बोधन औपचारिकतामा मात्र सीमित नभई नेपालको राष्ट्रिय हित र वास्तविक समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन केन्द्रित रहेको मन्त्री खनालको भनाइ छ। हालै भोटेकोसीमा आएको बाढीलाई प्रधानमन्त्रीले ‘हिमालयन सुनामी’ का रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराएको उनले बताए।
महासभाका क्रममा भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र परराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री शाहको सम्बोधनबारे सकारात्मक धारणा राखेको मन्त्री खनालले जानकारी दिए।
उनले प्रधानमन्त्रीले उठाएका विषयप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाएको र युवा सरकार प्रमुखका रूपमा प्रस्तुत गरेको कूटनीतिक दृष्टिकोणले नेपालको प्रस्ताव तथा अडानलाई थप प्रभावकारी बनाएको दाबी गरे। मन्त्री खनालले प्रधानमन्त्रीको उक्त प्रस्तुतिले आगामी दिनमा नेपालको अन्तर्राष्ट्रिय कूटनीतिलाई थप सबल र प्रभावकारी बनाउन आधार तयार भएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0