प्रचण्डद्वारा कम्युनिस्ट एकता र गणतन्त्रवादी शक्तिबीच सहकार्यको आह्वान
ईर्साद अन्सारी
१७ असोज,काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो परिस्थितिलाई सामना गर्न कम्युनिस्ट शक्तिबीच एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै उनले बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढ्न नसकिने बताए । प्रचण्डले गत वर्ष भदौ २४ गतेको घटनापछि देश सहज अवस्थामा अघि नबढेको दाबी गर्दै मुलुकलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयास भइरहेको बताए ।
उनका अनुसार यस्तो परिस्थितिमा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा अझ दृढतापूर्वक अघि बढ्नुपर्ने अवस्था छ । उनले भने, ‘बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन ।
आजको चुनौतीको सामना गर्न सच्चा कम्युनिस्ट शक्तिबीच पार्टी एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’ बैठकमा प्रचण्डले विगतमा भएका कामको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताए ।
गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने उनको तर्क थियो । उनले सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण हुनु तथा त्यसपछि तीनै तहका निर्वाचन सम्पन्न भएर संघीय संरचना कार्यान्वयनको आधार तयार हुनु महत्वपूर्ण उपलब्धि भएको प्रचण्डले बताए । आफू नेतृत्वको सरकारले गरेका कामलाई पनि जनताले तथ्यका आधारमा हेर्नुपर्ने उनको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0