पर्साको ठोरीमा राती बस्ती पसेको हात्तीले मच्चायो त्रास, हजुरआमा–नातिनी घाइते
१६ असाेज,पर्सा । पर्साको ठोरी गाउँपालिका–४ मा बिहिबार राती जंगली हात्ती बस्ती पसेपछि स्थानीय त्रसित भएका छन्।
हात्तीबाट जोगिन भाग्ने क्रममा एक वृद्धा र उनकी नातिनी घाइते भएका छन्। कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार बिहीबार राति पर्सा राष्ट्रिय निकुञ्जबाट बस्ती प्रवेश गरेको हात्तीले स्थानीयका घर तथा बालीमा क्षति पुर्याएको हो।
हात्ती घरतर्फ आएको देखेपछि सुरक्षित स्थानमा जान खोज्ने क्रममा ठोरी–४ की ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी घाइते भएको पाख्रिनले बताए। हात्तीले उनीहरूलाई पछ्याउँदै छिमेकीको घरसम्म पुगेको र घरको पाली भत्किएपछि दुवै जना घाइते भएको उनले जानकारी दिए।
पाख्रिनका अनुसार सोही रात हात्ती दुई पटकसम्म बस्तीमा प्रवेश गरेको थियो। हात्तीले स्थानीयको एउटा घरमा समेत क्षति पुर्याएको छ भने घरमा राखिएको खाद्यान्न र उखुबाली नष्ट गरेको छ।
पछिल्ला केही दिनयता रातको समयमा जंगली हात्ती बस्ती प्रवेश गर्ने क्रम बढेपछि ठोरी–४ का स्थानीयमा त्रास बढेको छ। स्थानीयले हात्ती नियन्त्रण तथा बस्तीमा प्रवेश रोक्न सम्बन्धित निकायसँग आवश्यक पहल गर्न माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0