नाकाबन्दीले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गर्‍यो: ओली

Sep 19, 2026 - 08:02
 0  6
नाकाबन्दीले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गर्‍यो: ओली

ईर्साद अन्सारी

३ असाेज,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि मुलुकले सामना गरेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको बताएका छन्।

 १२औँ संविधान दिवसका अवसरमा जारी प्रेस वक्तव्यमा ओलीले संविधान निर्माणका क्रममा नेपाल राष्ट्र र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको स्मरण गरेका छन्। संविधान जारी भएपछि मुलुकले नाकाबन्दीजस्तो कठिन अवस्था सामना गर्नुपरेको र त्यसले संविधानको रक्षा तथा त्यसप्रति एकताबद्ध हुन प्रेरित गरेको उनको भनाइ छ।

 ओलीले आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण तथा संरचनात्मक विकास गर्दै संविधान कार्यान्वयनको चरणमा अघि बढाएको दाबी गरेका छन्। संविधानले परिकल्पना गरेका विकास निर्माणका कामलाई समेत बहुआयामिक रूपमा अघि बढाइएको उनले बताएका छन्।

उनले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएको उल्लेख गरेका छन्। प्रमुख दलबीचको समझदारीमा विभिन्न चुनौती चिर्दै संविधान जारी गर्न सफल भएको उनको भनाइ छ। ओलीका अनुसार संविधानले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली स्थापना गर्दै राज्यका विभिन्न अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई संविधानले आत्मसात गरेको उनले बताएका छन्। नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासलगायत ३१ वटा मौलिक हक संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले ती अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने बताएका छन्।

 एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको पनि उनले उल्लेख गरेका छन्। वक्तव्यमा ओलीले गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको दाबी गरेका छन्। उनले वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोपसमेत लगाएका छन्।

राज्यका संवैधानिक तथा संस्थागत संरचनामाथि स्वेच्छाचारिता हाबी भएको दाबी गर्दै ओलीले गैरराजनीतिक र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा राजनीतिक नियुक्ति थप राजनीतिकरण गरिएको आरोप लगाएका छन्। त्यस्तै, वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुकूल काम गरिरहेको अनुभूति भएको ओलीले बताएका छन्।

उनले यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्। संविधान दिवसका अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

 उनले संविधानले परिलक्षित गरेको लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्न आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0