नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जी नदिइएको दाबी

Oct 30, 2026 - 18:30
 0  21
नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जी नदिइएको दाबी

१३ कातििक,काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ।

 सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदीलाई शुक्रबार समाचार कक्षमै कार्यरत रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

 नेपाल प्रेसका अनुसार सादा पोशाकमा प्रहरीको भ्यानमा आएका तीन जना व्यक्ति कार्यालयको गेटमा रहेका सुरक्षागार्डलाई साथी भेट्न आएको बताउँदै भित्र प्रवेश गरेका थिए।

समाचार कक्षमै पुगेका उनीहरूले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै आफूसँग जान आग्रह गरेका थिए। तर, समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले सुवेदीलाई पक्राउ पुर्जी देखाएका थिएनन्।

 प्रहरीले आफूहरू अपराध अनुसन्धानबाट आएको र प्रहरी महानिरीक्षक (आईजी) को आदेश रहेको मात्रै बताएको न्यौपानेले जनाएका छन्। सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति नदिएको र उनलाई प्रहरीको गाडीमा राखेर लगेको नेपाल प्रेसले जनाएको छ।

नेपाल प्रेसले सुवेदीसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन उठेको छैन भने प्रहरीले पनि पक्राउबारे आधिकारिक जानकारी दिएको छैन। प्रहरी स्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएअनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले सुवेदीलाई नियन्त्रणमा लिएको हो।

 नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक (आईजी) माथि राजीनामाको दबाब परेको भन्ने समाचारको स्रोत खोज्न उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ। सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने तयारी गरेको पनि नेपाल प्रेसले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0