फेटा घटनाको छानबिन गर्न एसएसपी नेतृत्वमा समिति, प्रसौनीका प्रहरी निरीक्षक जिम्मेवारीबाट हटाइए
१५ कात्तिक,बारा । बाराको फेटा गाउँपालिका–३ मा निर्माण सम्पन्न नभएको आधारभूत अस्पताल उद्घाटन गर्न खोजिएपछि उत्पन्न विवाद र प्रहरी–प्रदर्शनकारीबीच भएको झडपको घटनाबारे स्थलगत अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको संयोजकत्वमा गठित समितिमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। समितिलाई घटनास्थलमै पुगेर विवाद, प्रदर्शन र झडपका कारण तथा घटनामा प्रहरीको भूमिकासमेत अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको एसपी कुँवरले बताए।
फेटा गाउँपालिका–३ मा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल पूर्ण रूपमा निर्माण सम्पन्न नभई उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयवासीले शनिबार विरोध प्रदर्शन गरेका थिए।
विरोधका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका थिए। उनको तिघ्रामा गोली लागेको थियो। उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्याइएका पासवानको शल्यक्रियामार्फत तिघ्रामा लागेको गोली निकालिएको बताइएको छ।
घटनाले उग्र रूप लिएपछि प्रदर्शनकारीले अस्पताल परिसरमा ढुंगामुढा र तोडफोड गर्नुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरेका थिए। झडपका क्रममा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।
घटनाको वास्तविक अवस्था, झडपको कारण र प्रहरीको भूमिकाबारे छानबिन समितिको प्रतिवेदनपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0