दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

Oct 31, 2026 - 09:42
 0  7
दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

१४ कातिक,काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरी संस्थानलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

 सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा विभिन्न समूह खडा गरी योजनाबद्ध रूपमा आर्थिक अनियमितता गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कार्यबाट संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याउँदै १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको प्रहरीले जनाएको छ।

 पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ४५ वर्षीय सञ्जीव झा रहेका छन्। उनी संस्थानका तत्कालीन महाप्रबन्धक हुन्। हाल उनी डीडीसीको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए। त्यस्तै, सिराहाका ४६ वर्षीय विजयकुमार यादव, पर्वतका ५५ वर्षीय मनहरी शर्मा र सर्लाहीका ४९ वर्षीय रामकेवल राय पनि पक्राउ परेका छन्।

उनीहरू तत्कालीन समयमा विभिन्न चिस्यान केन्द्रका इञ्चार्जका रूपमा कार्यरत थिए। हाल उनीहरू संस्थानका विभिन्न कार्यालय तथा आयोजनामा कार्यरत रहेको सीआईबीले जनाएको छ।

 प्रहरीले उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान अघि बढाइएको छ।

 सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0