धनुषाका २४ वर्षीय युवक एक अर्ब ३४ करोडको हुण्डी कारोबार आरोपमा पक्राउ

Sep 17, 2026 - 06:04
 0  7
धनुषाका २४ वर्षीय युवक एक अर्ब ३४ करोडको हुण्डी कारोबार आरोपमा पक्राउ

१ असाेज,काठमाडौं । धनुषाका एक २४ वर्षीय युवक एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो । सीआईबीका अनुसार मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा बैंकिङ कारोबारको सूक्ष्म अनुसन्धान तथा विश्लेषण गरिएको थियो ।

सो क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी ठूलो रकमको कारोबार भएको भेटिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको खुलेपछि उक्त कारोबारमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

मुखियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली परिचालन गरिएको थियो ।

सोही टोलीले भदौ ३० गते साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मुखियामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । प्रहरीले उक्त कारोबारमा संलग्न अन्य व्यक्तिको समेत खोजी तथा अनुसन्धान तीव्र बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0