देशभर २४ घण्टामा ९ सवारी दुर्घटना, १० जनाको मृत्यु
ईर्साद अन्सारी
२९ भदाै,काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार रुपन्देही, बारा, सुर्खेत, रुकुम पश्चिम, बर्दिया, कैलाली र सिरहामा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
प्रहरीका अनुसार रुपन्देहीमा दुई, बर्दियामा दुई तथा बारा, सुर्खेत, रुकुम पश्चिम, कैलाली र सिरहामा एक–एक वटा दुर्घटना भएका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ ढवाहामा भदौ २५ गते मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका–२ बैरियाका ६२ वर्षीय डोलराज चापागाईंको उपचारका क्रममा भदौ २८ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको कलैया उपमहानगरपालिका–५ बालमन्दिरमा मोटरसाइकल र इ–रिक्सा ठोक्किँदा घाइते भएका कलैया–१७ का २७ वर्षीय अमित पटेलको पनि उपचारका क्रममा भदौ २८ गते मृत्यु भएको छ। सुर्खेतको लेकवेशी नगरपालिका–१० झुप्रामा मोटरसाइकलले पैदलयात्री ५५ वर्षीया आशा बुढालाई ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा डबल क्याप बलेरो जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी–६ की १७ वर्षीया प्रेमकला पुनको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। बर्दियाको राजापुर नगरपालिका–४ भन्सार चोकमा EV हाईसले ठक्कर दिँदा घाइते भएका करिब ६० वर्षीय धनिराम चौधरीको उपचारका क्रममा भदौ २९ गते मृत्यु भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार कञ्चनपुर पुनर्वास नगरपालिका–८ का १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरहाको नरहा गाउँपालिका–३ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा साइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका करिब ५५ वर्षीय हिरा राउत पटेलको उपचारका क्रममा मृत्यु भएको छ।
बर्दियाको गुलरिया नगरपालिका–१ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा नामथर र वतन नखुलेका करिब ३० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ केवलानी चोकमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक तिलोत्तमा–१ का ४७ वर्षीय तुलसीराम खरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यी दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार गरिएको थियो। तीव्र गति, चालकको लापरबाही, सडकको अवस्था तथा पैदलयात्री र सवारीसाधनबीचको असावधानी दुर्घटनाका प्रमुख जोखिमका रूपमा देखिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0