किशोर श्रेष्ठलाई बिनाशर्त रिहा गर्न पत्रकार महासंघको माग

Oct 17, 2026 - 14:41
 0  6
किशोर श्रेष्ठलाई बिनाशर्त रिहा गर्न पत्रकार महासंघको माग

३१ असाेज,काठमाडौं । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेको घटनाप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो। महासंघको केन्द्रीय समितिले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचारप्रति चित्त नबुझेको अवस्थामा प्रचलित र स्थापित कानुनी विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत रहेको उल्लेख गरेको छ।

महासंघका अनुसार पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो। सोही विषयमा परेको उजुरीका आधारमा प्रहरीको टोलीले श्रेष्ठलाई शनिबार ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ।

महासंघले समाचारमा प्रकाशित विषयप्रति असहमति भए प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमार्फत समाधान खोज्नुपर्नेमा राज्यसत्ताको आडमा पक्राउ गर्ने शैली अपनाइएको भन्दै खेद व्यक्त गरेको छ। यस्तो कार्यले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई कमजोर बनाउने महासंघको ठहर छ।

विज्ञप्तिमा प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचिएको आरोप लगाउँदै महासंघले पत्रकारविरोधी व्यवहार सच्याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै, पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गर्न तथा समाचारसम्बन्धी विवादको समाधान स्थापित प्रक्रियाबाट खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

महासंघले आफ्नो क्षेत्राधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई समेत आग्रह गरेको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनमईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0