कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ईर्साद अन्सारी
३१ असाेज,काठमाण्डाैं । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार बिहान करिब ९:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२ क ६६६ नम्बरको ट्रक, सोही दिशातर्फ गइरहेको बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा.३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा रा.३ प ३५८४ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३४ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। हालसम्म उनको नामथर र वतन खुल्न सकेको छैन। उपचारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएका उनलाई बिहान १०:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव र पछाडि सवार गढवा गाउँपालिका–१ हेठान गाउँका २१ वर्षीय अनिल योगी घाइते भएका छन्। दुवै जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रक तथा दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, ट्रक चालक पर्साको पोखरिया नगरपालिका–६ सिरसियाका ३२ वर्षीय ओमप्रकाश महत्तोलाई पनि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0