काउलीभित्र २ हजार ५६६ किलो गाँजा : पूर्वदेखि इनरुवासम्मका चेकपोस्टमा प्रहरीको निगरानीमाथि प्रश्न

Oct 5, 2026 - 09:48
 0  5
काउलीभित्र २ हजार ५६६ किलो गाँजा : पूर्वदेखि इनरुवासम्मका चेकपोस्टमा प्रहरीको निगरानीमाथि प्रश्न

१९ असाेज,इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीबाट काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएपछि पूर्वदेखि इनरुवासम्मको प्रहरी निगरानी र चेकजाँच प्रणालीमाथि प्रश्न उठेको छ।

 जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा ना.७ ख १८२५ नम्बरको ट्रक जाँच गर्दा काउलीको बीचमा लुकाइएको ८३ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद गाँजाको तौल अन्दाजी २ हजार ५६६ किलो रहेको छ।

घटनामा धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सदीप राई पक्राउ परेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकमा तरकारीको सामान्य आवरणमा गाँजा लुकाएर लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर, यति ठूलो परिमाणको गाँजा बोकेको ट्रक पूर्वबाट इनरुवासम्म आइपुग्दा बाटोमा रहेका विभिन्न प्रहरी चेकपोस्ट तथा सुरक्षा निगरानी संयन्त्रले किन पत्ता लगाउन सकेनन् भन्ने प्रश्न उठेको छ।

 विशेषगरी ट्रकमा काउली कहाँबाट लोड गरिएको थियो, कुन स्थानबाट गाँजा मिसाइएको थियो र पूर्वदेखि इनरुवासम्म कुन–कुन स्थानमा ट्रकको चेकजाँच भयो भन्ने विषय अनुसन्धानको महत्वपूर्ण पाटो बन्नुपर्ने देखिन्छ। पूर्वका विभिन्न स्थानबाट तरकारी बोकेर आउने मालवाहक सवारी साधनमाथि नियमित निगरानी हुने गरेको प्रहरीको दाबी रहँदै आएको छ।

विभिन्न चेकपोस्टमा सादा पोसाकका प्रहरी तथा घुमुवा प्रहरीसमेत परिचालन हुने गरेको अवस्थामा २ हजार ५६६ किलो गाँजा बोकेको ट्रक लामो दूरी पार गरेर इनरुवासम्म पुगेपछि मात्रै पक्राउ पर्नुले निगरानी संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको हो। एक पूर्व प्रहरी उपरीक्षकले ठूलो परिमाणको लागुऔषध बरामद भएको घटनामा चालक र सहचालकलाई पक्राउ गरेर मात्र अनुसन्धान सीमित गर्न नहुने बताए।

 उनका अनुसार ट्रक कहाँबाट लोड भयो, बाटोमा कहाँ–कहाँ रोकियो, कुन–कुन चेकपोस्ट पार गर्‍यो र त्यसक्रममा परिचालन भएका प्रहरीको भूमिका के थियो भन्ने विषयसमेत अनुसन्धानको दायरामा आउनुपर्छ। ती पूर्वएसपीले विगतको सरकार र वर्तमान सरकारको समयमा पनि यस्ता घटनामा अनुसन्धानको शैलीमा अपेक्षित फरक नदेखिएको टिप्पणी गरे।

उनका अनुसार सामान्यतया साना परिमाणको अवैध सामान देख्ने प्रहरी संयन्त्रले ठूलो परिमाणको सामान कसरी पार गरिरहेको छ भन्ने प्रश्नको जवाफ खोजिनुपर्छ। उनले व्यंग्यात्मक शैलीमा भने, ‘दुई–चार किलो चिनी वा दाल देख्नेले क्विन्टलका क्विन्टल देख्दैन भन्ने अवस्था हुन सक्दैन।’ उनका अनुसार कुनै ठूलो परिमाणको अवैध सामान बरामद भएपछि पक्राउ परेका चालक र सहचालकमाथि मात्र कारबाही गरेर अनुसन्धान टुंग्याउने प्रवृत्ति भए वास्तविक कारोबारीसम्म पुग्न कठिन हुन्छ।

 त्यसैले ट्रकको रुट, लोड भएको स्थान, सम्पर्कमा रहेका व्यक्ति, मोबाइल फोनको विवरण तथा बाटोमा भएका चेकजाँचसमेत अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ। यस घटनामा पनि पक्राउ परेका व्यक्तिहरूको मोबाइल फोन, सम्पर्क विवरण र ट्रकको यात्रासम्बन्धी विवरण अनुसन्धानको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।

 साथै, ट्रकमा काउली कहाँबाट लोड गरिएको थियो र गाँजा कुन स्थानबाट राखिएको थियो भन्ने पत्ता लगाउन प्रहरीले सम्बन्धित स्थानका सीसीटीभी, मोबाइल सम्पर्क तथा अन्य प्राविधिक प्रमाणसमेत जाँच गर्नुपर्ने देखिन्छ।

 बरामद गाँजा, ट्रक तथा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।

धादिङ,मकवानपुर र धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तर गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पुर्‍याउने तयारी थियो र कारोबारमा अरू को–को संलग्न थिए भन्ने विषय भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

 ठूलो परिमाणको गाँजा बरामद भएको यो घटनाले पक्राउ परेका चालक र सहचालकको भूमिकासँगै गाँजा लोड गर्ने व्यक्ति, ढुवानी व्यवस्थापन गर्ने समूह र बाटोमा निगरानी गर्ने सुरक्षा संयन्त्रको भूमिकासमेत अनुसन्धानको दायरामा आउनुपर्ने आवश्यकता देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0