स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणमा जुट्न प्रचण्डको निर्देशन
ईर्साद अन्सारी
१३ असाेज,बारा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सामान्य नरहेको बताएका छन्। उनले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनतासँग जोडेर अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
कलैयास्थित होटल बरेवा दरबारमा मंगलबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको बारा जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको राजनीतिक अवस्था जटिल र चुनौतीपूर्ण रहेको बताए। उनले बदलिँदो राजनीतिक परिस्थितिको सामना गर्न संगठनलाई बलियो बनाउँदै जनताका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउन आग्रह गरे।
आफ्नो नेतृत्वमा सरकार सञ्चालन भएका बेला गरिब, किसान र श्रमिक वर्गको पक्षमा महत्वपूर्ण काम गरेको दाबी गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका कामको श्रेय अहिले अन्य नेतृत्वले लिने गरेको टिप्पणी गरे। वर्तमान प्रतिनिधिसभामा महिला, मधेशी, दलित तथा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुमा राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै भूमिका नरहेको प्रचण्डले बताए।
माओवादी, नेकपा एमालेसहित सात राजनीतिक दलको भूमिका र राजनीतिक संघर्षबाट पनि समावेशी प्रतिनिधित्वको अवस्था निर्माण भएको उनले दाबी गरे। प्रचण्डले आगामी राजनीतिक यात्राका लागि पार्टी संगठनलाई वडा तहसम्मै बलियो बनाउनुपर्ने बताए।
जनतासँगको सम्बन्ध विस्तार, पार्टीका राजनीतिक एजेन्डा जनतामाझ लैजाने र संगठनभित्रका कमजोरी सुधार गर्ने कामलाई प्राथमिकतामा राख्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिक परिवर्तनमा कम्युनिस्ट शक्तिको महत्वपूर्ण भूमिका रहेको बताए। कम्युनिस्ट पार्टीबिना देश अघि बढ्न नसक्ने दाबी गर्दै उनले पार्टीप्रति विश्वास गरेर संगठन निर्माणमा सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे।
नेपालले पार्टीलाई जनताको समस्या र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने बताए। राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले बताए।
मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादवले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र सुदृढीकरणमा विशेष ध्यान दिन आग्रह गरे। प्रशिक्षणबाट प्राप्त राजनीतिक ज्ञान र संगठनात्मक सीपलाई गाउँ–गाउँसम्म पुर्याएर पार्टीको आधार विस्तार गर्न उनले निर्देशन दिए।
स्थानीय तहसम्म पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै यादवले जनताको दैनिक जीवनसँग जोडिएका सवाललाई राजनीतिक एजेन्डा बनाएर संगठन निर्माणमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे।
मधेश मुक्ति मोर्चाका संयोजक तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले राजनीतिक नेतृत्वको आलोचना गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने बताए। गणतन्त्र, लोकतन्त्र तथा जनयुद्धबाट प्राप्त उपलब्धि राजनीतिक संघर्षको परिणाम भएको दाबी गर्दै उनले ती उपलब्धिको रक्षा र संस्थागत विकासमा राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको हुनसक्ने आशयको अभिव्यक्ति दिएको प्रसंग उठाउँदै यादवले त्यससम्बन्धी प्रमाण सार्वजनिक गर्नुपर्ने बताए।
प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले भने सीमा क्षेत्रमा देखिएको अवस्थालाई ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा क्षेत्रसँग सम्बन्धित प्राविधिक अवस्थाका रूपमा स्पष्ट गरेको थियो।
नेकपाका बारा जिल्ला इन्चार्ज रमेश यादवले पार्टीभित्र रहेका कमजोरी सुधार गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे। संगठनलाई चलायमान बनाउँदै पार्टीलाई स्थानीय तहमा नेतृत्वदायी भूमिकामा पुर्याउने गरी राजनीतिक गतिविधि विस्तार गर्नुपर्ने उनले बताए।
जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटीमा थपिएका नयाँ सदस्यलाई पार्टी संयोजक प्रचण्डले शपथ ग्रहण गराए। नेपाली कम्युनिस्ट पार्टीले गरिबी अन्त्य, किसानको अधिकार, श्रमिकको हित, सामाजिक न्याय तथा देशमा शान्ति र स्थायित्व कायम गर्ने एजेन्डालाई अघि बढाउँदै संगठन विस्तार र सुदृढीकरणलाई तीव्र बनाउने जनाएको छ।
आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर तल्लो तहसम्म संगठन विस्तार तथा राजनीतिक गतिविधि बढाउने तयारी गरेको नेताहरूले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0