सिराहामा हवाई फायर गरेर ३१२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ
१२ कातिक,सिरहा । भारतबाट खैरो हेरोइन ल्याएर मधेश प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्दै आएको सूचनाका आधारमा प्रहरीले सिराहाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान सिराहा नगरपालिका–१३, मल्हनियाबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको मधुबनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई रोक्न खोज्दा भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला, बेला पञ्चायत वडा नं. ८ निवासी ४४ वर्षीय लालबाबु सिंह र सोही ठाउँका २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्।
उनीहरूको साथबाट खैरो हेरोइनसहित भारतीय नम्बर प्लेटको बीआर–३२४ भी ७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0