सिरहामा टिपरको ठक्करबाट महिलाको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

Oct 2, 2026 - 17:55
 0  6
सिरहामा टिपरको ठक्करबाट महिलाको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

१६ असाेज,बारा  । सिरहाको कर्जन्हा नगरपालिका–४ भुल्केस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टिपरले यात्रुवाहक विद्युतीय गाडी (ईभी)लाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार भएको दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभाकुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज. ०१२४ नम्बरको विद्युतीय गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा टाउको तथा अनुहारमा गम्भीर चोट लागेकी यादवको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।

अर्की घाइते गोलबजार नगरपालिका–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

 ईभी चालक धनगढीमाई नगरपालिका–२ का ३५ वर्षीय मन्जुर खान तथा गोलबजार नगरपालिका–४ की संगीता मण्डल र फुलकुमारी यादवको अवस्था मध्यम रहेको छ।

 उनीहरूको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0