साउदी राजधानी रियाद र लालसागर क्षेत्रका ऊर्जा केन्द्रमा हुथीद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेकाे दाबी

Sep 20, 2026 - 07:48
 0  3
साउदी राजधानी रियाद र लालसागर क्षेत्रका ऊर्जा केन्द्रमा हुथीद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेकाे दाबी

४ असाेज,काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित विभिन्न क्षेत्रमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेका छन्।

 हुथी सैन्य प्रवक्ता याह्या अल–सारियाले रियादका ‘संवेदनशील स्थल’ तथा लालसागर तटीय क्षेत्रको यान्बुस्थित साउदी सरकारी तेल तथा ग्यास कम्पनी अरामकोका ऊर्जा केन्द्रलाई निशाना बनाइएको बताएका छन्। साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले आकाशमै रोकेर नष्ट गरेको बताएका छन्।

 अन्य आक्रमणबारे भने साउदी पक्षले विस्तृत पुष्टि गरेको छैन। शनिबार बिहान रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँको मुस्लो देखिएको थियो। घटनापछि विमानस्थलका केही उडान प्रभावित भएका थिए।

 एएफपीका अनुसार रियादका विभिन्न क्षेत्रमा विस्फोटका आवाजसमेत सुनिएका थिए। साउदी नागरिक सुरक्षा निकायले राति रियादसहित विभिन्न क्षेत्रमा सम्भावित हवाई आक्रमणबारे मोबाइल फोनमार्फत चेतावनी जारी गरेको थियो। पछि जोखिम टरेको भन्दै ‘अल क्लियर’ सूचना जारी गरिएको थियो।

 हुथी प्रवक्ता सारियाले पछिल्लो आक्रमणलाई यमनको राजधानी सानामाथि साउदी अरबले गरेको भनिएको आक्रमणको जवाफ भएको बताएका छन्। हुथीको नियन्त्रणमा रहेको सानामाथि पछिल्लो समय साउदी नेतृत्वको गठबन्धनले आक्रमण गरेको उनीहरूको आरोप छ।

 यसैबीच, साउदी नेतृत्वको गठबन्धनका एक प्रवक्ताले बिश, ताइफ, फरासान र यान्बु क्षेत्रमा सर्वसाधारणलाई लक्षित गर्ने क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका प्रयासलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल पारिएको बताएका छन्। आक्रमणबाट भएको मानवीय क्षति र भौतिक क्षतिबारे विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन।

 हुथीले गरेका दाबी र क्षतिको स्वतन्त्र पुष्टि पनि हुन सकेको छैन। अमेरिकी नागरिकलाई यात्रा पुनर्विचार गर्न आग्रह मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई साउदी अरबलगायत मध्यपूर्व क्षेत्रमा यात्रा गर्दा सतर्क रहन आग्रह गरेको छ।

 सम्भावित उडान रद्द तथा अन्य यात्रा अवरोधलाई ध्यानमा राख्दै मध्यपूर्व हुँदै वा मध्यपूर्वमा यात्रा गर्ने योजनाबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आग्रह गरिएको छ।

यमनमा पनि बढ्दो तनाव

यमनमा हुथी विद्रोही र साउदी समर्थित सरकारी फौजबीच पछिल्लो समय भिडन्त तीव्र भएको छ। एएफपीले सैन्य स्रोतलाई उद्धृत गर्दै शनिबारको भिडन्तमा हुथीतर्फ ३१ र सरकारी पक्षका १७ गरी ४८ जनाको मृत्यु भएको जनाएको छ। यद्यपि, उक्त विवरणको स्वतन्त्र पुष्टि भएको छैन।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार पछिल्लो लडाइँका कारण विस्थापित हुनेको संख्या एक लाख चार हजार ७९६ नाघेको छ। यससँगै लालसागर क्षेत्रमा पनि तनाव बढेको छ।

हुथी समूहले रणनीतिक महत्वको मोखा बन्दरगाह र पेरिम टापु आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। यी क्षेत्र एसिया र युरोपबीचको महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गनजिक पर्छन्। लालसागर क्षेत्रमा बढ्दो तनावले तेल आपूर्ति, सामुद्रिक व्यापार र अन्तर्राष्ट्रिय बजारमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0