रास्वपाकै कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन खोजेको प्रभु साहको आरोप

Oct 23, 2026 - 18:33
 0  9
रास्वपाकै कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन खोजेको प्रभु साहको आरोप

६ कात्तिक,काठमाण्डाैं  । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकार गठन भएको ६ महिना नबित्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने प्रयास भइरहेको दाबी गरेका हुन्।

उनका अनुसार वर्तमान सरकारलाई अन्य दलबाट तत्काल कुनै खतरा नरहे पनि रास्वपाभित्रै प्रधानमन्त्रीलाई असफल बनाउने रणनीति तयार भइरहेको छ। यसको वास्तविकता चाँडै जनतासामु आउने उनको दाबी छ। साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वउपसभापति तथा वर्तमान सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी गरेको आरोपसमेत लगाए।

लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी र पुनः धार्मिक यात्राका लागि भारत गएको प्रसंग उल्लेख गर्दै साहले यी गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्ने बताए। अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले रास्वपाका नेताहरूको पटक–पटकको भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने टिप्पणी गरे।

 पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै प्रधानमन्त्री शाहलाई उपयोग गर्न खोजेको आरोप लगाउँदै यसप्रति सचेत रहन आग्रह गरे। रास्वपाको पार्टी पंक्ति चुनाव केन्द्रित भएको र देश तथा जनताको समस्याप्रति पर्याप्त चासो नदेखाएको उनको आरोप छ।

 कार्यक्रममा साहले भने, “घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो। देश र जनताको बारेमा उनीहरूलाई कुनै चिन्ता छैन। यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ।

” साहले रास्वपामा लामिछाने समर्थक कार्यकर्ताहरू उग्र रहेको र सामाजिक सञ्जालमा गालीगलौज बढाएको आरोप पनि लगाए। सामाजिक सम्बन्धको महत्त्व नबुझेका कारण उनीहरूले सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गर्ने गरेको उनको टिप्पणी थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0