बिहारमा पटाका कारखानामा विस्फोट पाँच जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने; प्रहरी चौकीका इन्चार्ज र चौकीदार निलम्बित

Oct 24, 2026 - 08:12
 0  10
बिहारमा पटाका कारखानामा विस्फोट पाँच जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने; प्रहरी चौकीका इन्चार्ज र चौकीदार निलम्बित

७ कात्तिक,काठमाण्डाैं । भारतको बिहारस्थित सिवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने तथा भण्डारण गर्ने घरमा भएको शक्तिशाली विस्फोटमा पाँच जनाको मृत्यु भएको छ।

 शुक्रबार साँझ करिब ५:३० बजे भएको घटनामा अन्य व्यक्तिसमेत बेपत्ता भएको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। जामो बजार प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने आलमपुर गाउँमा स्थानीय पटाका व्यवसायी मोहम्मद अमीरुद्दीन मियाँको घरमा विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घरमा राखिएका पटाकामा आगो लागेपछि एकपछि अर्को विस्फोट भएको थियो। विस्फोटको तीव्रताले घरको अगाडिको भाग भत्किएर सडकमा खसेको थियो। घटनास्थलमा करिब डेढदेखि दुई घण्टासम्म पटक–पटक विस्फोट भएका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो।

सिवानका प्रहरी अधीक्षक (एसपी) भरत सोनीले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका थिए। उनका अनुसार घरमा रहेका भनिएका अन्य तीन जनाको अवस्थाबारे पनि खोजी भइरहेको थियो। जिल्ला प्रशासन र स्वास्थ्य टोलीले घटनास्थलमा शव तथा भग्नावशेषको जाँच गरिरहेका बेला थप शव भेटिन सक्ने आशंका व्यक्त गरिएको छ । 

मृतकको आधिकारिक नाम सार्वजनिक भएको विवरण भने स्पष्ट छैन। केही भारतीय सञ्चारमाध्यममा पटाका व्यवसायी अमीरुद्दीन मियाँसहित परिवारका सदस्य र कामदारको मृत्यु भएको उल्लेख गरिए पनि सबै मृतकको पहिचान सम्बन्धित अधिकारीबाट पुष्टि भएको छैन।

 विस्फोटका कारण केही शव क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको बताइएको छ। घटनापछि जिल्ला अधिकारी विजय प्रकाश मीना, एसपी सोनीलगायत सुरक्षा तथा प्रशासनिक अधिकारी घटनास्थल पुगेका थिए।

दमकल, स्वास्थ्यकर्मी, प्रहरी र फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) टोली परिचालन गरिएको थियो। विस्फोटको कारण, पटाका भण्डारण तथा उत्पादनको अनुमति र सुरक्षा व्यवस्थाबारे अनुसन्धान अघि बढाइएको छ।

घटनामा लापरबाही भएको आशंकामा एसपी सोनीले जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल प्रभावबाट निलम्बन गरेका छन्।

 घटनाको अनुसन्धानका लागि महाराजगञ्जका अनुमण्डल प्रहरी पदाधिकारी (एसडीपीओ) को नेतृत्वमा विशेष टोली गठन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीले घटनास्थलको प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको छ। मृतकको अन्तिम संख्या, सबैको पहिचान र विस्फोटको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ।एजेन्सीकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0