भारतका खोजी सूचीमा रहेका ग्याङस्टर हिमांशु भाऊ अमेरिकामा पक्राउ
८ कात्तिक,काठमाण्डाैं । भारतका विभिन्न राज्यमा हत्या, फिरौती असुली र हतियार तस्करीलगायतका आपराधिक मुद्दामा खोजी भइरहेका ग्याङस्टर हिमांशु भाऊ अमेरिकामा पक्राउ परेका छन्।
उनलाई अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले शुक्रबार पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हरियाणाको रोहतक जिल्लास्थित रिटोली गाउँका निवासी २४ वर्षीय भाऊविरुद्ध दिल्ली, हरियाणा र अन्य क्षेत्रमा ३० भन्दा बढी आपराधिक मुद्दा रहेको बताइएको छ।
तीमध्ये कम्तीमा १६ वटा हत्या वा हत्याको प्रयाससँग सम्बन्धित रहेको इन्डियन एक्सप्रेसले जनाएको छ। भाऊविरुद्ध सन् २०२३ मा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। उनलाई पक्राउ गर्न हरियाणा प्रहरीले २ लाख ५० हजार भारतीय रुपैयाँ र दिल्ली प्रहरीले एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको भारतीय सञ्चारमाध्यमका समाचारमा उल्लेख छ।
भाऊ सन् २०२० मा हिसारस्थित बाल सुधारगृहबाट अन्य युवासहित भागेको आरोप छ। त्यसपछि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आफ्नो समूह विस्तार गरेको प्रहरीको दाबी छ। उनले सन् २०२२ मा नक्कली राहदानी प्रयोग गरेर भारत छाडेको र विदेशबाटै आफ्नो समूह सञ्चालन गर्दै आएको बताइएको छ।
दिल्ली, हरियाणा र पञ्जाब क्षेत्रमा व्यापारीलाई धम्क्याएर फिरौती माग्ने, गोली प्रहार गर्ने तथा हत्याका घटनामा उनको समूहको नाम जोडिँदै आएको छ। चर्चित युट्युबर एल्विश यादवको घरबाहिर भएको गोली प्रहारको घटनामा पनि हिमांशु भाऊको समूहको नाम जोडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भाऊलाई नीरज बवाना तथा बम्बिहा समूहसँग निकट रहेको र लरेन्स बिश्नोई समूहसँग प्रतिस्पर्धा रहेको बताइन्छ। उनी विदेशमा बसेर आफ्ना सहयोगीमार्फत भारतमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको आरोप छ।
अमेरिकामा पक्राउ परेपछि उनलाई भारत ल्याउने प्रक्रिया अघि बढाउन भारतीय अधिकारीहरूले अमेरिकी निकायसँग समन्वय गरिरहेको इन्डियन एक्सप्रेसले जनाएको छ। फाेटाे:ईन्डिया टुडे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0