रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प, ५ सयभन्दा बढी कन्टेनर बाढीले बगायो

Aug 27, 2026 - 09:58
 0  0
रसुवागढी नाका अनिश्चितकालका लागि ठप्प, ५ सयभन्दा बढी कन्टेनर बाढीले बगायो

११ भदाै,काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी अनिश्चितकालका लागि ठप्प भएको छ।

बाढीले चीनबाट नेपाल भित्रिने तयारीमा रहेका पाँच सयभन्दा बढी सामान बोकेका कन्टेनर बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार बाढीबाट भएको मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ।

 बाढीमा परेका कन्टेनरमा दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (ईभी) लगायत विभिन्न सामग्री रहेको उनले बताए। पराजुलीका अनुसार बाढीबाट भएको व्यापारिक क्षति प्रारम्भिक अनुमानमै अरबौं रुपैयाँ बराबर हुनसक्ने देखिएको छ। सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल रहेकाले नाका कहिले सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन।

 रसुवागढी नाकाबाट चीन हुँदै नेपालमा लत्ताकपडा, फलफूल, विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा अन्य विभिन्न वस्तु आयात हुँदै आएको छ। नाका लामो समय अवरुद्ध भए दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्नुका साथै बजारमा विभिन्न सामानको मूल्यसमेत बढ्न सक्ने संघले जनाएको छ।

नाका अवरुद्ध भएपछि व्यापारिक अवस्थाबारे जानकारी गराउन संघका प्रतिनिधिले गृहमन्त्री तथा गृह मन्त्रालयका उच्च अधिकारीसँग छलफलसमेत गरेका छन्। मन्त्रालयले घटनाबाट भएको क्षति र सीमाक्षेत्रको अवस्थाबारे विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ।

बाढीका कारण रसुवागढी नाका अवरुद्ध हुँदा चीनसँगको नेपालको स्थलमार्गबाट हुने आयात–निर्यातमा समेत गम्भीर असर परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0