रसुवाको भोटेकोशी बाढीमा बेपत्ता तथा पहिचान नखुलेका शवको डीएनए परीक्षण तीव्र पार्न आईजीपी कार्कीको निर्देशन
१७ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा पहिचान खुल्न नसकेका शवहरूको पहिचानका लागि प्रहरीले डीएनए प्रोफाइलिङ विधिबाट परीक्षण प्रक्रिया तीव्र बनाएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको स्थलगत निरीक्षण गर्दै बाढीमा परी पहिचान खुल्न नसकेका शवहरूको डीएनए परीक्षणलाई थप प्रभावकारी, व्यवस्थित र तत्परताका साथ अघि बढाउन निर्देशन दिनुभएको हो।
निरीक्षणका क्रममा आईजीपी कार्कीले शव पहिचानको संवेदनशीलता र पीडित परिवारलाई सत्यतथ्य जानकारी उपलब्ध गराउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै परीक्षण कार्यमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित अधिकारी तथा प्राविधिक टोलीलाई निर्देशन दिनुभयो।
उहाँले डीएनए प्रोफाइलिङका लागि आवश्यक नमुना संकलन, परीक्षण तथा अभिलेखीकरणको कार्यलाई वैज्ञानिक र व्यवस्थित ढंगले अघि बढाउनसमेत निर्देशन दिनुभएको प्रहरीले जनाएको छ।
यस क्रममा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा खटिएका विदेशी विशेषज्ञ टोलीहरूसँग समेत छलफल गर्दै आईजीपी कार्कीले पहिचान खुल्न नसकेका शवहरूको यथाशीघ्र पहिचान हुने गरी समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिनुभयो।
भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट फेला परेका तर तत्काल पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्ने प्रयास भइरहेको छ। डीएनए परीक्षणबाट शवको पहिचान खुलेपछि सम्बन्धित परिवारलाई जानकारी गराई कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गर्न सहज हुने प्रहरीको अपेक्षा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0