मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको २ किलो ३४८ ग्राम सुनजस्तो पदार्थसहित दुई चिनियाँ महिला पक्राउ
ईर्साद अन्सारी
९ मंसिर,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार राति काठमाडौं ओर्लिएका उनीहरूको गतिविधि शङ्कास्पद देखिएपछि सुरक्षा जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रभित्र लुकाएर ल्याएका आठ थान गोलाकार पहेँलो अर्धठोस पदार्थ फेला परेको थियो।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट प्लास्टिकको र्यापसहित कुल दुई किलो ३४८ ग्राम तौलको उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद पदार्थमध्ये लिन लिना साथबाट पाँच थानमा एक हजार ३४० ग्राम र लिन सिनपिङको साथबाट तीन थानमा एक हजार आठ ग्राम तौल भएको पदार्थ फेला परेको हो।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले शङ्कास्पद रूपमा सुन लुकाएर ल्याएको अवस्थामा फेला परेपछि दुवै महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै महिलालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको छ।
यद्यपि, बरामद भएको पहेँलो अर्धठोस पदार्थ वास्तविक सुन हो वा होइन भन्ने पुष्टि परीक्षणपछि मात्रै हुने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0