मकवानपुर ईभी दुर्घटनाका मृतकको पहिचान खुल्यो, बाराका सरफरोससहित चार जनाको मृत्यु
३० भदाै,बारा । काठमाडौँबाट वीरगन्ज आउँदै गरेको यात्रुवाहक ईभी माइक्रो मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा दुर्घटना हुँदा बाराका एक जनासहित चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा चार जना घाइते भएका छन्। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालका ३२ वर्षीय सरफरोस मियाँ, नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई र पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब एक हजार मिटर तल खसेको हो।
दुर्घटनामा ईभी चालक बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमिर अन्सारी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङतान गम्भीर घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै, बाराको महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादव मध्यम घाइते भएकी छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार ईभीमा चालकसहित आठ जना सवार थिए। दुर्घटनामा चारै जना पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो।
घाइतेलाई तत्काल अस्पताल पठाइएको थियो भने मृतकको शव हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0