भारतकाे कोटामा भीषण सडक दुर्घटना: खाटु श्यामजीबाट फर्किएका एउटै परिवारका ९ जनाको मृत्यु, ८ घाइते
७ मंसिर,काठमाण्डाैं । भारतको राजस्थानस्थित कोटा जिल्लामा आइतबार बिहान भएको भीषण सडक दुर्घटनामा एउटै परिवारका ९ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
कोटा–उदयपुर राष्ट्रिय राजमार्गअन्तर्गत शम्भुपुरा गाउँनजिक आइतबार (नोभेम्बर २२, २०२६) बिहान करिब २ बजे तीर्थयात्री बोकेको क्रुजर गाडी सडक किनारमा रोकिराखिएको ट्रकसँग ठोक्किएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको धुले जिल्लाका एकै परिवारका सदस्यहरू राजस्थानस्थित खाटु श्यामजी मन्दिरको दर्शन गरी घर फर्किरहेका थिए। दुर्घटनाका बेला गाडीमा १६ जना सवार थिए। दुर्घटनामा मृत्यु हुने ९ जनाको पहिचान खुलेको छ।
ज्यान गुमाउनेमा ६० वर्षीया उषा, ६५ वर्षीया सुशीला, ४५ वर्षीय कैलाश, ६ वर्षीया जान्वी, ६० वर्षीय सज्जन, अनिता, ६० वर्षीय बाबुलाल, १३ वर्षीया जान्वी र ४५ वर्षीया माधवी रहेका छन्। दुर्घटनामा घाइते भएका ८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि कोटास्थित न्यू मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकलाई निद्रा लागेर गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको आशंका गरिएको छ। ट्रक चालक हारुनका अनुसार गाडीमा प्राविधिक खराबी आएपछि सडक किनारमा रोकेर जाँच गरिरहेका बेला तीव्र गतिमा आएको क्रुजर ठोक्किएको हो।
घटनाको जानकारी पाउनासाथ कोटा सिटीकी प्रहरी अधीक्षक तेजस्विनी गौतमसहित प्रहरी तथा प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। मृतकको शव परीक्षण (पोस्टमार्टम) प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।फाेटाे: the week
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0