बारामा कोइला लोड ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
ईर्साद अन्सारी
२० कातिक,बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिकै कोइला लोड ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ ५ः३५ बजे हेटौंडा–पथलैया सडकखण्डमा भएको दुर्घटनामा सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादवको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार यादवलाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास पनि घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। पछाडि सवार यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
दुवै घाइतेलाई उपचारका लागि साँझ ६ः३० बजे जिल्ला अस्पताल हेटौंडा पुर्याइएको थियो। उपचारका क्रममा साँझ ६ः३९ बजे ईसीजी परीक्षण गर्दा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।
घाइते दासको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कमाने निवासी ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0