बारामा असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: जिल्ला प्रशासन कार्यालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

Sep 23, 2026 - 18:51
 0  7
बारामा असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना: जिल्ला प्रशासन कार्यालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

७ असाेज,बारा । आगामी शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 जिल्ला प्रशासन कार्यालय बाराले बुधबार सूचना जारी गर्दै मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको हो।

 विभागका अनुसार बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तर दिशातर्फ सर्ने क्रममा रहेकाले यसको प्रभावले मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ।

भारी वर्षाका कारण बाढी, डुबान, भू–क्षय, पहिरो, सडक अवरोध तथा चट्याङको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ। तराई क्षेत्रमा डुबानको जोखिमसमेत रहेकाले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, जोखिमयुक्त बस्तीका बासिन्दालाई पूर्वसतर्कता अपनाउन तथा पानी परिरहेको र रातिको समयमा सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ। नदी तथा खोलानजिक र पहिरो तथा बाढीको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि भनिएको छ।

 त्यस्तै, अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न, महिला, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई सुरक्षित स्थानमा राख्न र ट्रेकिङमा नजान प्रशासनले आग्रह गरेको छ।

स्थानीय तहका विपद् व्यवस्थापन फोकल पर्सनलाई २४ सै घण्टा अलर्ट रहन तथा स्थानीय विपद् व्यवस्थापन समितिले आवश्यक स्वयंसेवक, जनशक्ति, उपकरण र अन्य सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। प्रशासनले मौसम तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित हेर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत आग्रह गरेको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न जिल्ला विपद् व्यवस्थापन समितिको हटलाइन १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0