पोखरामा स्कुल बस दुर्घटना : ४ विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते(
२३ असाेज,पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानस्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ममता तिवारी, अशिम कँडेल र नामथर नखुलेका दुई बालिका रहेका छन् । उनीहरू करिब १२ देखि १४ वर्ष उमेरका विद्यार्थी हुन् ।
दुर्घटनामा पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ । उनी उपचारका लागि जाने क्रममा बसमा लिफ्ट लिएर सवार रहेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेमा पोखरा महानगरपालिका–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन् ।
उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत छन् । उनीहरूको अवस्था मध्यम रहेको छ । त्यस्तै, गण्डकी अस्पतालमा उपचाररत घाइतेमध्ये पोखरा महानगरपालिका–२८ की १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेमा १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी गाउँपालिका–१२ की १५ वर्षीया स्मृती खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर रहेका छन् ।
उनीहरू अधिकांशको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ । बसका चालक पोखरा महानगरपालिका–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन् ।
उनको अवस्था मध्यम रहेको छ । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन् ।
उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0