पथलैयामा माछा बोकेको पिकअपबाट ८० हजार मूल्यका पटका बरामद, दुई जना पक्राउ
१० कातिक,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित प्रहरी चेकपोइन्टबाट अवैध रूपमा लुकाइछिपाइ लैजादै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सात प्रकारका पटका बरामद गरिएको छ ।
प्रहरीले पटका ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअपलाई पथलैया चेकपोइन्टमा जाँच गर्ने क्रममा पटका फेला पारेको हो ।
पिकअपमा माछासँगै लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विभिन्न सात प्रकारका गरी ६४ डिब्बा पटका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार बरामद गरिएका पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन् ।
पटका बरामद भएपछि प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ ।
बरामद पटका र नियन्त्रणमा लिइएका दुवै जनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0