नेकपाको जागरण अभियानमा देशभरका नेता–कार्यकर्ता परिचालन, कुन तहका नेतालाई कहाँ पुग्ने जिम्मेवारी ?

Oct 27, 2026 - 16:11
 0  2
नेकपाको जागरण अभियानमा देशभरका नेता–कार्यकर्ता परिचालन, कुन तहका नेतालाई कहाँ पुग्ने जिम्मेवारी ?

ईर्साद अन्सारी

१० कातिक,काठमाण्डाैं  । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको दुई महिने राष्ट्रिय जागरण अभियानका लागि केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताको कार्यविभाजन गरेको छ।

पार्टीले अभियानलाई सङ्गठनात्मक सुदृढीकरण, वैचारिक जागरण र जनपरिचालनसँग जोड्दै देशभरका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने रणनीति बनाएको हो।

 अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा अभियानको सुरुवात गरेका थिए।

अभियानसँगै पार्टीको महाधिवेशन तयारीलाई पनि अघि बढाउने नेकपाको योजना छ। अभियानलाई प्रभावकारी बनाउन संयोजक र सहसंयोजकले नेताहरूको जिम्मेवारी तोकेर सर्कुलर जारी गरेका छन्। सर्कुलरअनुसार केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरूलाई विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

 उनीहरूलाई आफू मतदाता रहेको प्रदेशमा खटाएर सम्बन्धित प्रदेशका पार्टी समिति तथा जिल्ला तहसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन र समन्वय गर्न भनिएको छ। नेकपाले अभियान अवधिमा पार्टीका सबै केन्द्रीय सदस्यदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका नेता तथा कार्यकर्तालाई आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा परिचालन गर्ने नीति लिएको छ।

गत निर्वाचनमा उम्मेदवार बनेका नेताहरूलाई भने आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ। त्यस्तै, प्रादेशिक जिम्मेवारी नतोकिएका केन्द्रीय सदस्यलाई पनि आफ्नो मतदाता नामावली रहेको प्रदेशअन्तर्गत अभियानमा सहभागी गराइने सर्कुलरमा उल्लेख छ।

केन्द्रीय सदस्यहरूले पालिका र वडा तहमा सञ्चालन हुने अभियान टोलीको नेतृत्व गर्नेछन्। प्रदेश समितिहरूले आफ्ना प्रदेशअन्तर्गतका केन्द्रीय समिति सदस्यसँग समन्वय गरेर सङ्गठनात्मक गतिविधि, वैचारिक काम र जनपरिचालनलाई तीव्रता दिने गरी कार्यविभाजन गर्नुपर्नेछ।

प्रदेशगत जिम्मेवारी तोक्न बाँकी रहेका केन्द्रीय सदस्यको जिम्मेवारी पनि अभियानका क्रममा निर्धारण गरिने जनाइएको छ। प्रादेशिक जिम्मेवारीमा नरहेका केन्द्रीय संयोजन समितिका सदस्यलाई अभियान अवधिका लागि विभिन्न प्रदेशमा खटाइने व्यवस्था गरिएको छ।

विभाग, मोर्चा तथा जनवर्गीय सङ्गठनमा जिम्मेवारी सम्हालिरहेका नेताहरूलाई समेत आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुन निर्देशन दिइएको छ। प्रवासमा रहेका पार्टीका प्रदेशअन्तर्गतका नेताहरूलाई पनि आफू कार्यरत देशमै अभियानमा सहभागी गराउने गरी सम्बन्धित प्रदेशले जिम्मेवारी बाँडफाँट गर्ने नेकपाको सर्कुलरमा उल्लेख छ।

यस अभियानमार्फत पार्टीको सङ्गठनलाई तल्लो तहसम्म मजबुत बनाउने, नेता तथा कार्यकर्तालाई जनतामाझ परिचालन गर्ने र आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक आधार तयार गर्ने नेकपाको तयारी देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0