धनुषामा बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा उद्योग सञ्चालकका छोराको मृत्यु, चालक घाइते
१५ असाेज,जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ लालभित्तिमा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका छोरा ३६ वर्षीय हरि महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे उद्योग परिसरमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर अचानक पल्टिएको थियो।
टिपर पल्टिँदा महतो त्यसमा पुरिएका थिए। उद्योग परिसरमै रहेको जेसीबीको सहयोगमा तत्काल उद्धार गरी गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो। तर उपचारकै क्रममा बिहान १०ः२० बजे महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका करिब ३० वर्षीय हरि बि.क. समेत घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डिएसपी खनालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0