जेनजी सांसदसँग प्रधानमन्त्रीको भेट: स्वदेशमै अवसर सिर्जना र व्यावसायिक बन्न आग्रह

Sep 18, 2026 - 16:27
 0  7
जेनजी सांसदसँग प्रधानमन्त्रीको भेट: स्वदेशमै अवसर सिर्जना र व्यावसायिक बन्न आग्रह

२ असाेज,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन्।

 सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउने अभियानमा अग्रसर हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने र समस्या समाधानमुखी व्यवहार अपनाउन सांसदहरुलाई सुझाव दिएका छन्।

उनले पुराना तथा अव्यावहारिक सोच त्यागेर नवीन ढंगबाट अघि बढ्नुपर्ने बताए। उनले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न समेत सांसदहरुलाई आग्रह गरे। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै आफ्नो पुस्ताका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उनले बताए।

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरुले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएका छन्।

 उनीहरुले आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्तरक्रियाबारे जानकारी दिँदै उक्त विवरण सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0