जीतपुरसिमरा नगर अस्पताल उद्घाटनमा हतार नगर्न वडा अध्यक्ष खरेलको सुझाव, ‘फेटा प्रकरण’ दोहोरिने चेतावनी
१७ कातिक,बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष हरिदेव खरेलले नगर अस्पताल उद्घाटनको विषयमा नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला अधिकारीलाई संस्थागत निर्णय र विधि प्रक्रिया अपनाउन सुझाव दिएका छन्।
खरेलले मंगलबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै जीतपुरसिमरा नगर अस्पतालजस्तो नगरवासीको साझा सम्पत्तिसँग जोडिएको महत्वपूर्ण विषयमा एकल निर्णयका आधारमा उद्घाटन गर्न खोज्नु उचित नहुने बताएका छन्। उनले अस्पताल भवन निर्माण सम्पन्न गर्ने ठेकेदारको करिब ४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उल्लेख गर्दै २०८३ असार मसान्तसम्म काम सम्पन्न गरेका नगरभित्रका विभिन्न उपभोक्ता समिति तथा ठेकेदारहरूले समेत भुक्तानी नपाएको गुनासो गरिरहेको बताएका छन्।
भुक्तानी नपाउँदा उनीहरू आर्थिक संकटमा परेको र दीपावली तथा छठजस्ता चाडपर्वसमेत तनावका बीच मनाउनुपरेको उनको भनाइ छ। नगर अस्पताल उद्घाटनजस्तो सार्वजनिक सरोकारको विषयमा नगर कार्यपालिकामा आवश्यक छलफल र संस्थागत निर्णय नगरी अघि बढ्नु उचित नहुने खरेलको भनाइ छ।
नगर प्रमुख वा उपप्रमुख कसैले पनि संस्थागत प्रक्रिया र सामूहिक निर्णयलाई बेवास्ता गरेर मनोमानी गर्न नहुने उनले बताएका छन्। खरेलले पहिले अस्पताल निर्माणको हिसाबकिताब पारदर्शी बनाउन, बाँकी भुक्तानीको सुनिश्चितता गर्न र त्यसपछि सबैको अपनत्व हुने गरी विधि तथा प्रक्रियाअनुसार उद्घाटन गर्न सुझाव दिएका छन्।
उनले हतार र एकल निर्णयका आधारमा अघि बढाइएमा नगर अस्पतालको उद्घाटन कार्यक्रम पनि अर्को ‘फेटा प्रकरण’ बन्न सक्ने चेतावनीसमेत दिएका छन्। यसअघि बारा जिल्लाको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर विवाद चर्किँदा प्रहरीले गोली चलाउनुपरेको थियो।
उक्त घटनामा एक युवक घाइते भएका थिए। खरेलले व्यक्तिभन्दा संस्था ठूलो र मनोमानीभन्दा विधि तथा प्रक्रिया ठूलो हुने भन्दै नगर नेतृत्वलाई सबैको अपनत्व हुने गरी अघि बढ्न आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0