छठ पर्वको दोस्रो दिन आज खरना, धार्मिक आस्था र सामाजिक सद्भावको पर्व देशभर विस्तारिँदै

Nov 14, 2026 - 07:27
 0  18
छठ पर्वको दोस्रो दिन आज खरना, धार्मिक आस्था र सामाजिक सद्भावको पर्व देशभर विस्तारिँदै

२८ कातिक,बारा । सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज शनिबार देशभर श्रद्धा र भक्तिपूर्वक खरना मनाइँदैछ।

विशेषगरी मधेश प्रदेशमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा मनाउन थालिएको छ।

 खरना छठ पर्वको महत्वपूर्ण धार्मिक विधि हो। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ स्नान गरी पवित्रताका साथ भगवान् सूर्य र छठी माताको पूजा आराधना गर्छन्। त्यसपछि घरमा बनाइएको शुद्ध खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गरी खरना सम्पन्न गरिन्छ। खरनापछि व्रतालुहरू छठको मुख्य पूजासम्म निर्जला व्रतमा बस्ने परम्परा छ।

 धार्मिक मान्यताअनुसार छठ पर्वमा सूर्यदेव र छठी माताको आराधना गर्दा परिवारमा सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ। सन्तानको स्वास्थ्य, परिवारको कल्याण तथा मनोकामना पूरा हुने विश्वासका साथ महिला तथा पुरुष दुवैले श्रद्धापूर्वक यो व्रत गर्ने गरेका छन्।

छठ पर्वको अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक र सांस्कृतिक महत्व हो। यस पर्वले स्वच्छता, अनुशासन, शुद्धता, प्रकृतिप्रतिको सम्मान र सामूहिक एकताको सन्देश दिन्छ। जातजाति, भाषा र समुदायबीच आपसी सद्भाव कायम गर्दै सबैलाई एउटै घाटमा भेला गराउने विशेषता पनि छठ पर्वमा देखिन्छ। पहिले मुख्यतः मधेशका तराई क्षेत्रमा सीमित रहेको छठ पर्व अहिले पहाड, हिमालदेखि राजधानी काठमाडौंसम्म फैलिएको छ।

रोजगारी, बसाइँसराइ र सांस्कृतिक आदानप्रदानसँगै विभिन्न समुदायले समेत यस पर्वलाई आत्मसात् गर्दै आएका छन्। बाराको कलैया, जितपुरसिमरा, निजगढ, कोल्हवी, महागढीमाईलगायत विभिन्न स्थानमा पनि छठको तयारी र धार्मिक गतिविधि बढेका छन्। पोखरी, नदी, तलाउ तथा जलाशयका किनारमा घाट सजाउने, सरसफाइ गर्ने र पूजाका सामग्री व्यवस्थापन गर्ने काम भइरहेको छ।

 चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0