चक्रवात ‘अर्णव’को सम्भावित प्रभावः बारा प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह, धानबाली सुरक्षित गर्न अनुरोध
ईर्साद अन्सारी
१० कातिक,बारा । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लावासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनका अनुसार आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यसले बारा जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी, कटान र डुबान हुनुका साथै चुरे क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको जनाइएको छ।
प्रशासनले पाकेको धानबाली तथा अन्य कृषि उपज सुरक्षित रूपमा भित्र्याउन, नदी किनार र चुरे फेदीका बासिन्दालाई सतर्क रहन तथा वर्षाको समयमा खोला तर्ने, माछा मार्ने र दाउरा संकलनजस्ता जोखिमपूर्ण काम नगर्न आग्रह गरेको छ।
त्यस्तै, अत्यावश्यक कामबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र बिरामीको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
सम्भावित विपद्को सामना गर्न स्थानीय तह, सुरक्षा निकाय तथा उद्धार टोलीलाई तयारी अवस्थामा रहन र जोखिमयुक्त बस्तीका बासिन्दालाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन पनि प्रशासनले आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा आधिकारिक निकायका सूचनालाई आधार मान्न र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0