गोरखामा ब्रेक फेल भएर जीप दुर्घटना, २ गम्भीरसहित ८ जना घाइते
४ असाेज,गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको अवस्था गम्भीरसहित ८ जना घाइते भएका छन्।
आइतबार बिहान करिब १०ः३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जीप ब्रेक फेल भएपछि सडकको नालामा खसेर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ९ जना सवार थिए।
दुर्घटनामा सिरानचोक गाउँपालिका–२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ र सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। त्यस्तै सिरानचोक गाउँपालिका–७ का ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक गाउँपालिका–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, सिरानचोक गाउँपालिका–७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली तथा उनकी २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0