क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ, पालिका अध्यक्षसँगै प्रहरी इन्चार्ज पनि नियन्त्रणमा

Sep 6, 2026 - 09:47
 0  36
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ, पालिका अध्यक्षसँगै प्रहरी इन्चार्ज पनि नियन्त्रणमा

२१ भदाै,बारा । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ।

 जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार  भदौ २० गते राति करिब १०ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा चार नेपाली र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न चार कर्मचारीलाई नियन्त्रणमा लिइएको हो।

 पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदिप पौडेल रहेका छन्। यादव सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन्।

त्यस्तै, पालिका अध्यक्ष यादवसँगै पक्राउ परेका प्रदिप पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज रहेको जानकारी प्राप्त भएको छ। यद्यपि, जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा पौडेलको प्रहरी पद वा जिम्मेवारी उल्लेख गरिएको छैन। विज्ञप्तिमा उनलाई स्याङ्जा हरिनास गाउँपालिका–७ बस्ने ३६ वर्षीय व्यक्तिका रूपमा मात्र उल्लेख गरिएको छ।

 नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0