कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते, ४ जनाको अवस्था गम्भीर
२७ असाेज,काठमाण्डाैं । कैलालीको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक मंगलबार साँझ ७ बजे अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको मध्यम रहेको छ। अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ८६३३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ निवासी ३६ वर्षीय निरज रावत र पछाडि सवार गोदावरी नगरपालिका–६, लालपुरका ४६ वर्षीय भरत बुढा गम्भीर घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको छ।
त्यस्तै, अटो चालक गोदावरी नगरपालिका–६, लालपुरका ३८ वर्षीय गणेश आले र अटोमा सवार बर्दिया घर भई हाल चुरे गाउँपालिका–५, खानीडाँडास्थित ससुरालीमा बस्दै आएका ३१ वर्षीय भीमबहादुर महतरा क्षेत्री पनि गम्भीर घाइते भएका छन्।
आलेको टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने क्षेत्रीको टाउको र शरीरमा चोट लागेको छ। दुर्घटनामा क्षेत्रीकी ३० वर्षीया श्रीमती मेनुका महतरा, डेढ वर्षीय छोरा रिदम महतरा र चुरे गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना पनि घाइते भएका छन्।
मेनुकाको टाउको, दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा, रिदमको बायाँ आँखा र पेटमा तथा रानाको टाउको र दाहिने हातमा चोट लागेको छ। उनीहरू तीनै जनाको अवस्था मध्यम रहेको छ।
दुर्घटनाबारे साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय मालाखेतीमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न अटो र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0