रौतहटमा केवाइसी अद्यावधिक गर्ने बहानामा ५० लाख ठगीको आरोप, तीन जना पक्राउ

Oct 12, 2026 - 18:04
 0  7
रौतहटमा केवाइसी अद्यावधिक गर्ने बहानामा ५० लाख ठगीको आरोप, तीन जना पक्राउ

 २६ असोज,बारा । बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको झुटो परिचय दिँदै केवाइसी (KYC) अद्यावधिक गरिदिने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलन गरी अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो।

 प्रहरीका अनुसार गत असोज २३ गते गौर नगरपालिका–३ र ५ का विभिन्न स्थानमा छापा मार्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको सीतामढीस्थित बैगनियाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

प्रहरीका अनुसार उक्त ठगी प्रकरणमा हालसम्म २२ वटा उजुरी परेका छन्। प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी रकम ठगी भएको खुलेको छ। पक्राउ परेकाहरूको साथबाट नगद, सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, एटीएम कार्ड, चेकबुक तथा विभिन्न बैंकिङ कागजात बरामद गरिएको प्रहरीले जनाएको छ।

 घटनामा संलग्न मुख्य योजनाकारहरूको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। यसैबीच, प्रहरीले केवाइसी अद्यावधिक गरिदिने भन्दै फोन गर्ने अपरिचित व्यक्तिलाई ओटीपी (OTP), पिन नम्बर तथा बैंक खातासम्बन्धी गोप्य विवरण उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

साथै, अपरिचित व्यक्तिको अनुरोधमा मोबाइलको स्क्रिन सेयर नगर्न र अनलाइन कारोबार गर्दा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0