काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ जना बिचौलिया प्रहरी नियन्त्रणमा
११ मंसिर,काठमाण्डाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोपछि प्रहरीले ७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १० गते दिउँसो करिब २ः३० बजे खटिएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ घर भई सोही स्थान बस्ने ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानो भर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन्।
त्यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि नियन्त्रणमा परेका छन्।
नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0