काठमाडौं–हेटौंडा रुटमा रातिको सवारी सञ्चालनमा समय सीमा, बिहान ५ बजेदेखि मात्रै चलाउन पाइने
२७ कातिक,काठमाडौं । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय सीमा निर्धारण गरेको छ।
पछिल्लो समय उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार (कात्तिक २७ गते) जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बिहान ५ बजेपछि मात्रै सञ्चालन गर्न पाइनेछ।
त्यस्तै, काठमाडौं हुँदै हेटौंडा जाने सवारी साधन साँझ ८ बजेसम्ममा फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रशासनका अनुसार साँघुरो सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारी साधनको यान्त्रिक अवस्था, तीव्र गति र चालकको लापरवाहीका कारण उक्त सडकखण्डमा दुर्घटनाको जोखिम बढेको छ।
एकै दिनमा पटकपटक ट्रिप गर्नुपर्ने दबाब, चालकको अत्यधिक थकान तथा अनिद्रा, रातिको समयमा अँध्यारो सडकमा यात्रा र मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।
सूचनामा यात्रुवाहक सवारी साधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक सवारी साधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार लागू गरिएको उक्त व्यवस्था यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0