एमालेभित्र अब अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

Sep 29, 2026 - 16:28
 0  7
एमालेभित्र अब अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

१३ असोज,काठमाण्डाैं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत जाने तथा अराजकता फैलाउने गतिविधि अब स्वीकार्य नहुने बताएका छन्।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई पार्टीभित्रको सन्देह अन्त्य गर्ने ‘कट-अफ डेट’का रूपमा लिइएको बताए।

उनले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिए। अध्यक्ष ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीलाई पार्टीका दुई मुख्य कार्यभारका रूपमा अघि सारे।

 निर्वाचनमा केन्द्रित भएर पार्टीलाई जिततर्फ अघि बढाउने र निष्क्रिय रहेका जनसंगठनलाई पुनर्गठन गर्ने उनले बताए। पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा हुने गतिविधिलाई ‘अपराधपूर्ण क्रियाकलाप’को संज्ञा दिँदै ओलीले केन्द्रीय कमिटी बैठकअघिका विषयलाई क्षमा गरिएको तर अब त्यस्तो छुट नदिइने बताए।

अहिले प्रतिनिधि परिषद् बैठकतर्फ लाग्ने समय नभएको भन्दै उनले निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए। ‘कोराकोर, हानहान गर्ने होइन, चुनावको तयारी गर्ने बेला हो,’ ओलीले भने।

 उनले नेता–कार्यकर्तालाई अर्जुनको जस्तो एउटै लक्ष्यमा केन्द्रित हुन र ब्रुसलीको जस्तो एकाग्रताका साथ सम्पूर्ण शक्ति संगठन निर्माणमा लगाउन आग्रह गरे। देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंश र आतंक सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै ओलीले एमाले एकताबद्ध भएर त्यसलाई रोक्न अघि बढ्ने बताए।

 गत वर्ष भदौ २३ र २४ गते भएका घटना, राष्ट्रिय सम्पत्ति, सिंहदरबारलगायतका संरचना तथा व्यक्तिका घरमा भएको आगजनीप्रति चिन्ता व्यक्त गर्दै उनले गैरसंवैधानिक कदमका कारण देश संकटमा परेको बताए।

एमालेले देशलाई लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा फर्काउन तथा संविधानको रक्षा गर्न नेतृत्व लिने उनको भनाइ थियो। फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको ओलीले बताए।

आगामी दिनमा व्यक्तिगतभन्दा सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। विरोधीहरूले फैलाएका भ्रमलाई तथ्य, तर्क र प्रमाणका आधारमा चिर्न डिजिटल क्याम्पेन सञ्चालन गर्ने पनि उनले बताए।

अन्य दलसँग पार्टी एकताको विषयमा हुने चर्चालाई समयको बर्बादीको संज्ञा दिँदै ओलीले आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्ने तर अनावश्यक रूपमा पार्टी एकताको चर्चामा नलाग्न आग्रह गरे।

राजधानी वा सुविधायुक्त स्थानमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै उनले नेताहरूलाई ‘टुरिस्ट’ जस्तो नघुम्न र आफ्नै कार्यक्षेत्रमा खटिएर कार्ययोजना बनाउन निर्देशन दिए। नेता–कार्यकर्ताको मूल्यांकन अब ज्येष्ठताका आधारमा नभई काम र श्रेष्ठताका आधारमा हुने ओलीले बताए।

उनले नेता–कार्यकर्तालाई आफूलाई बदल्न, शालीनता र विनम्रता सिक्न तथा आत्मबलका साथ जनतामाझ पुगेर पार्टीप्रति भरोसा जगाउन आग्रह गरे। केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेख निर्माण तथा संगठन सुदृढीकरणको काम यही महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन पनि ओलीले निर्देशन दिए।

 केन्द्रीय कार्यालयबाट सञ्चालित कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, डा. राजन भट्टराईलगायत नेताहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन महासचिव पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0