आम जनता पार्टीका अध्यक्ष प्रभु साहद्वारा विपद् पीडितका लागि छुट्टै प्राधिकरण गठन गर्न र अत्यावश्यक सेवा चुस्त राख्न सरकारसँग माग
२४ असोज,काठमाण्डां । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न अधिकारसम्पन्न छुट्टै प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् ।
दशैं, दीपावली तथा छठ पर्वको अवसरमा आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले बाढीपीडितको अवस्था अझै दयनीय रहेकाले उनीहरूको पीडालाई बेवास्ता गरेर चाडपर्व मनाउन नसकिने बताए ।
“बाढीपीडितको अवस्था विजोग छ । बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व हुन्छ ?” साहले प्रश्न गर्दै विपद्मा परेका नागरिकलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिए । उनले बाढी तथा पहिरोबाट प्रभावित परिवारको पुनःस्थापना, क्षतिको मूल्यांकन, तत्काल राहत वितरण र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई एकीकृत योजनाअन्तर्गत अघि बढाउनुपर्ने बताए ।
त्यसका लागि प्रभावकारी अधिकार र जिम्मेवारीसहितको छुट्टै प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए । महँगी र कालोबजारी नियन्त्रण गर्न माग अध्यक्ष साहले चाडपर्वका बेला बजारमा हुने महँगी, कालोबजारी र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र उचित मूल्य सुनिश्चित गर्न प्रभावकारी बजार अनुगमन आवश्यक रहेको उनको भनाइ थियो ।
खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन तथा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पार्ने प्रवृत्ति नियन्त्रण गर्न उनले सरकारसँग आग्रह गरे । अत्यावश्यक सेवा २४सै घण्टा सञ्चालन गर्न आग्रह साहले दशैं, दीपावली र छठका नाममा स्वास्थ्य सेवा, शान्ति सुरक्षा, विद्युत्, खानेपानी तथा सञ्चारजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन नहुने बताए ।
“दशैं, दीपावली वा छठका नाममा अत्यावश्यक सेवा बन्द गर्न मिल्दैन,” उनले भने, “स्वास्थ्य सेवा र शान्ति सुरक्षा २४सै घण्टा सुनिश्चित हुनुपर्छ ।” चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले धार्मिक तथा पर्यटकीय स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन, सार्वजनिक यातायात व्यवस्थित गर्न र यात्रुको सहज आवागमन सुनिश्चित गर्न पनि उनले सरकार तथा सुरक्षा निकायलाई आग्रह गरे ।
मनपरी भाडा र सडक अवरोध नियन्त्रण गर्नुपर्ने चाडपर्वमा यात्रुको चाप बढेको मौका छोपेर सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने र यात्रुलाई दुःख दिने प्रवृत्ति नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा कारबाही आवश्यक रहेको साहले बताए । बाढी, पहिरो वा अन्य कारणले राजमार्ग तथा मुख्य सडक अवरुद्ध हुँदा यात्रु लामो समयसम्म अलपत्र पर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो ।
उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण, सडकमा सहज आवागमन तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए । आकस्मिक उद्धार तथा राहतका लागि पनि सम्बन्धित निकाय तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए । साहले चाडपर्वलाई केवल उत्सवका रूपमा मात्र नभई विपद्मा परेका नागरिकको पीडा सम्झने अवसरका रूपमा लिनुपर्ने बताए ।
राज्यले गरिब, विपन्न तथा विपद्पीडित परिवारको अवस्था सुधार गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले देशभरका नागरिकलाई दशैं, दीपावली तथा छठ पर्वको शुभकामना दिँदै चाडपर्वका समयमा नागरिकको सुरक्षा, सेवा र सहजताप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरे ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष धनकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव देवी पण्डित रेग्मी, प्रवक्ता सुभाष साह र सचिव विजय यादवसहितका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपत्यका विशेष कमिटीका सचिव रवि ध्वज कार्कीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0