सशस्त्रका सई हत्याका मुख्य अभियुक्त २२ महिनापछि मुठभेडमा पक्राउ

Sep 20, 2026 - 07:07
 0  0
सशस्त्रका सई हत्याका मुख्य अभियुक्त २२ महिनापछि मुठभेडमा पक्राउ

४ असाेज,सिराहा । सिराहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य अभियुक्त करिब २२ महिनापछि पक्राउ परेका छन्।

प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले बताएका छन्। पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्ला ललमनियाँ थाना क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी रहेका छन्।

प्रहरीका अनुसार उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालक हुन्। प्रहरीका अनुसार २०८१ मङ्सिर १६ गते बिहान करिब ३ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक घटना भएको थियो। त्यसबेला कचनारीस्थित बीओपीबाट सई यादवको कमाण्डमा पाँच सदस्यीय गस्ती टोली परिचालन गरिएको थियो।

 भारततर्फ ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी टोलीले टाटा सफारी गाडी रोक्न खोजेको थियो। सो क्रममा गाडीले ड्युटीमा रहेका सई यादवलाई ठक्कर दिएको र गम्भीर घाइते भएका यादवको मृत्यु भएको प्रहरीको भनाइ छ।

 घटनापछि फरार रहेका मन्सुरीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार २०८३ असोज ३ गते साँझ करिब ७ः१० बजे कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक उनलाई पक्राउ गर्न खोजिएको थियो।

प्रहरीका अनुसार मन्सुरीसहित तीन जनाले प्रहरी टोलीतर्फ एक राउन्ड गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। जवाफी कारबाहीका क्रममा प्रहरीले तीन राउन्ड गोली चलाउँदा मन्सुरीको बायाँ हातको कुहिना र दायाँ खुट्टाको घुँडामा गोली लागेको जनाइएको छ।

 घाइते मन्सुरीलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिराहामा भर्ना गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मन्सुरीमाथि ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि ज्यान मार्ने उद्देश्यले गाडी प्रयोग गरी आक्रमण गरेको तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

 प्रहरीका अनुसार मन्सुरी नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करीमा समेत संलग्न रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0