बाराको अमलेखगञ्जमा वृद्धको ज्यान लिने पिकअपका चालक पक्राउ,अवरूद बाटाे सुचारू
२५ असाेज,बारा । बाराको अमलेखगञ्जमा पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु भएको घटनामा फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको रातेमाटो चेकपोस्टबाट पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनार रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
आइतबार बिहान पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको प्र २–०३–००१ च १७७७ नम्बरको पिकअपले जीतपुरसिमरा उपमहानगरपालिका–२२ निवासी करिब ६७ वर्षीय रामबहादुर थिङलाई अमलेखगञ्जमा ठक्कर दिएको थियो ।
ठक्करबाट थिङको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक गाडीसहित फरार भएपछि स्थानीयले दोषी चालकलाई पक्राउ गर्न माग गर्दै अमलेखगञ्जमा सडक अवरुद्ध गरेका थिए ।
स्थानीयको अवरोधका कारण बिहानैदेखि पथलैया–हेटौँडा सडकखण्डको यातायात प्रभावित भएको थियो । प्रहरीले दुर्घटनामा संलग्न पिकअप र चालकलाई नियन्त्रणमा लिएपछि सडक सञ्चालनमा आएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0