बुढीगण्डकी बाढी अपडेट: सिरिङ्गेको हिमपहिरोले खोला थुनिँदा भीषण बाढी; पुल र घरहरू बगायो, यारुबगरबाट १८ जनाको उद्धार, प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खटिए

Oct 11, 2026 - 14:17
 0  6
बुढीगण्डकी बाढी अपडेट: सिरिङ्गेको हिमपहिरोले खोला थुनिँदा भीषण बाढी; पुल र घरहरू बगायो, यारुबगरबाट १८ जनाको उद्धार, प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खटिए

२५ असाेज,काठमाण्डाैं । गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पा र चुम्लिङबीच रहेको सिरिङ्गे हिमालमा हिमपहिरो गएर उइनगुलुङ खोला थुनिएपछि आएको बुढीगण्डकी नदीको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ।

 बाढीले झोलुङ्गे पुल, मोटरेबल पुल, पक्की पुल तथा घरहरू बगाएको छ भने १८ जना नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ। २०८३ असोज २५ गते बिहान करिब ५:३० बजे हिमपहिरो गएर खोला थुनिएपछि बुढीगण्डकी नदीमा बाढी आएको हो।

बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि नदीमा ठूलो बाढी आएको थियो। बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याकचेतदेखि सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल तथा धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।

 त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल पनि बाढीले बगाएको छ। आरुघाट गाउँपालिका–९, नयाँपुलमा गोरखाबाट धादिङ जोड्ने तीन भागमा रहेको पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

घरहरू बगाए, बस्ती जोखिममा

बाढीले चुमनुब्री गाउँपालिका–३, सिर्दिबासमा स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

सोही गाउँपालिकाको सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस तथा आसपासका ७–८ वटा घर बगाएको विवरण प्राप्त भएको छ। सल्लेरीका थप २०–२२ वटा घर जोखिममा परेका छन्।

धार्चे गाउँपालिका–५, माछिखोलाको तल्लो बस्तीका ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ। आरुघाट गाउँपालिका–३, सोतीमा पनि करिब १४–१५ वटा घरमा बाढी पसेको छ।

 १८ जनाको हेलिकप्टरबाट उद्धार

धार्चे गाउँपालिका–१, यारुबगरमा फसेका स्थानीय बासिन्दा तथा हाइड्रोपावरमा काम गर्ने १८ जना नेपाली नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ। 

बिहान ७:४५ बजे उद्धार तथा हिमपहिरो प्रभावित क्षेत्रको अनुगमनका लागि सेनाको हेलिकप्टर चुमनुब्री गाउँपालिका–३, सिर्दिबासमा अवतरण गरेको थियो। प्रभावित क्षेत्रको अनुगमनपछि बिहान ८:०५ बजे हेलिकप्टर जगततर्फ फर्किएको थियो। बाढी बिहान ८ बजे आरुघाट र ८:५५ बजे घ्यालचोकसम्म पुगेको विवरणमा उल्लेख छ।

उद्धार तथा राहतका लागि थप सुरक्षाकर्मी परिचालन

 बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा थप क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको समन्वयमा बिहान ९:२० बजे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप टोली परिचालन गरिएको हो।

 नेपाली सेना रुद्रध्वज गण, नाम्जाली डाँडा ब्यारेक ठिमुरेश्वरबाट प्रमुख सेनानी विरोध रिजालको कमान्डमा ३० जना, जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी उपरीक्षक अनिलकुमार खड्काको कमान्डमा ५० जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म हेडक्वार्टर गोरखाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप रेग्मीको कमान्डमा ९ जनाको टोली आरुघाटतर्फ परिचालन गरिएको छ।

प्रभावित क्षेत्रमा उद्धार सामग्रीसहित सुरक्षाकर्मी खटिएका छन्। बाढीबाट भएको थप क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्ने कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0